जुठे दाई, भाउजु अनि गणतान्त्रिक नेपाल

जुठे दाइले काधमा बोक्ने हलो
प्रजातन्त्र र समाजवादको प्रयाय बन्यो
अनि आधुनिक नेपाल र संबृध्दी को नारा बन्यो
निम्सरी भाउजुले खेलाउने हसिया र कोदालो
समाजवाद र साम्यवादको दर्शन बन्यो
अनि कहिले बर्ग समानता, सर्बहाराबाद त
कहिले महिला मुक्तिको नारा बन्यो
भुन्टे र कालिको डोको नाम्लो
बाल अधिकार र समान शिक्षाको उदाहरण बन्यो
अनि कहिले कमैया मुक्ति र बाल श्रमको नारा बन्यो
अहिले जुठेदाइको हलो
निम्सरी भाउजुको हसिया र कोदालो
अनि भुन्टे र कालिको डोको र नाम्लो
सुन्दैछु नयाँ गणतन्त्र र लोकतन्त्रको नारा बनेको छ
अलिशान दरबार र होटेल भित्र
उनैको नाममा गोस्ठी र भोज भातेर हुन्छ रे
उनिहरुकै लागि नयाँ नेपालको नयाँ संबिधान लेख्ने
थुप्रै ढाट र विद्वानहरुले भत्ता खान्छरे
तर जुठे दाई, निम्सरी भाउजु अनि भुन्टे र काली
सिस्नोको जरो र गिट्ठा टिप्न जंगलतिर गएका धेरै भएका छन
पर झाडी छेउ फाटेको टोपी, चोलिको पाटो
चुडिएको सानो चप्पल र रातो रिवन यत्रतत्र छन रे
सुन्छु उनिहरु नयाँ नेपाल र गणतन्त्र खोज्दै जादा
बरुदी सुरुङमा पो परेछन
कहिल्यै नबन्ने नयाँ नेपाल अनी संबिधान
फगत सपना बाड्ने
उनै सिखण्डी र पाखण्डीलाई जिम्मा लगाएर
कहिल्यै नफर्किने गरी .....?
शायद यहि होला हाम्रो नयाँ नेपाल र गणतन्त्र .....?
| < Prev | Next > |
|---|
